Rule 6
विद्यालयले पालन गर्नु पर्ने शर्तहरु
ऐन र यस नियमावलीमा अन्यथा लेखिए देखि बाहेक विद्यालयले पालन गर्नु पर्ने शर्तहरु देहाय बमोजिम हुनेछः–
(क) नेपाल सरकारबाट स्वीकृत पाठ्यक्रम र पाठ्यपुस्तक लागू गर्नु पर्ने,
(ख) पाठ्यक्रम विकास केन्द्रको स्वीकृति बिना थप पाठ्यपुस्तक तथा पाठ्यसामग्री प्रयोग गर्न नहुने,
(ग) राष्ट्रियताप्रति आँच आउने पाठ्य सामग्री भएको पाठ्यपुस्तक विद्यालयमा अध्यापन गर्न, गराउन नहुने,
(घ) नेपाल सरकारले तोकेको न्यूनतम तलब रकममा नघटाई शिक्षकलाई तलब दिनु पर्ने,
(ङ) अभिभावकको वार्षिक भेला गराई विद्यालयको आय व्यय, शैक्षिक उपलब्धि र आगामी शैक्षिक सत्रको कार्यक्रमको नियमित जानकारी गराउनु पर्ने,
(च) नियम १७० बमोजिम आय व्ययको लेखा राख्नु पर्ने,
(छ) विद्यालयले गरेको लगानीको प्रमाणको अभिलेख राख्नु पर्ने,
(ज) नेपालको राष्ट्रिय एकता, सार्वभौमिकता तथा धार्मिक सहिष्णुतामा खलल पार्ने कुनै पनि क्रियाकलाप विद्यालयमा हुन नदिने,
(झ) विद्यालयमा तोकिएको शिक्षक संख्यामा नघट्ने गरी प्रचलित कानून बमोजिम योग्यता पुगेको शिक्षकको व्यवस्था गर्नु पर्ने,
(ञ) विद्यालयमा अतिरिक्त कार्यकलाप तथा अन्य कार्यक्रम सञ्चालन गर्नु पर्ने,
(ट) विद्यालय तथा छात्रबासमा स्वस्थकर र नैतिक चरित्र निर्माणको वातावरण कायम गर्न आवश्यक व्यवस्था मिलाउने,
(ठ) आवासीय विद्यालयमा जिल्ला शिक्षा समितिले तोकिदिए बमोजिम विद्यार्थीको लागि खाना तथा पौष्टिक आहारको गुणस्तर कायम गर्नु पर्ने,
(ड) आवासीय विद्यालयले शुरुमा कम्तीमा दश प्रतिशत विद्यार्थीलाई आवासीय सुविधा पु¥याउनु पर्ने,
(ढ) जिल्ला शिक्षा कार्यालयले दिएको निर्देशन अनुरुप काम गर्नु पर्ने,
(ण) नियम ४ बमोजिमका पूर्वाधारहरु यथावत् राख्नु पर्ने,
(त) मन्त्रालय वा सो अन्तर्गतका निकायले तोकेको ढाँचामा विद्यालयको शैक्षिक तथ्यांक तयार गरी जिल्ला शिक्षा कार्यालयमा पठाउने ।